21
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्‍नुभएको देशको कुनै मैदानमा कोही मारिएको पाइयो र यसको हत्याराको निधो भएन भने, तिमीहरूका धर्म-गुरुहरू र न्यायकर्ताहरू गएर लाशदेखि नजिक भएका सहरहरू पत्ता लगाऊन् । त्यसपछि लाशको निकटतम सहरका धर्म-गुरुहरूले गाईवस्तुबाट काममा नलगाएको र जुवा नहालेको एउटा कोरली लिऊन् । अनि तिनीहरूले त्यस कोरलीलाई नजोतिएको र बिउ नछरिएको खोला भएको उपत्यकामा लैजाऊन्, र त्यहाँ तिनीहरूले त्यसको घाँटी भाँचिदिऊन् । पुजारीहरू अर्थात् लेवीका सन्तानहरू अगाडि आऊन् किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उहाँको सेवा गर्न र परमप्रभुको नाउँमा आशिष् दिन अनि हरेक वादविवाद मिलाइदिन छान्‍नुभएको छ । मारिएको मानिसको निकटतम सहरका सबै धर्म-गुरुले उपत्यकामा घाँटी निमोठिएको कोरलीमाथि आ-आफ्ना हात धोऊन् । अनि तिनीहरूले त्यस मामललाई जवाफ दिई यसो भनून्, 'हाम्रा हातले यो रगत बगाएका होइनन्, न त हाम्रा आँखाले यसलाई देखेका छन् ।' हे परमप्रभु इस्राएललाई क्षमा दिनुहोस् जसलाई तपाईंले छुटकारा दिनुभएको छ, र तपाईंको जाति इस्राएलको बिचमा यो निर्दोषको हत्याको दोष नलगाउनुहोस् ।' तब हत्याको दोषलाई क्षमा हुने छ । यसरी तिमीहरूले परमप्रभुको दृष्‍टिमा जे ठिक छ त्यही गरेकाले तिमीहरूले तिमीहरूका बिचबाट निर्दोषको हत्याको दोषलाई हटाउने छौ । 10 जब तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्ध गर्न जान्छौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई विजय दिई तिनीहरूलाई तिमीहरूको वशमा ल्याउनुहुन्छ अनि जब तिमीहरूले तिनीहरूलाई बन्दी बनाई ल्याउँछौ, 11 तब तिमीहरूले बन्दीहरूका बिचमा सुन्दरी स्‍त्री देख्यौ र त्यसलाई आफ्नी पत्‍नी बनाउने इच्छा गर्‍यौ भने 12 त्यसलाई आफ्नो घरमा लैजानू । त्यसले आफ्नो कपाल खौरन्छे र नङ् काट्छे । 13 त्यसपछि त्यसले निर्वासनमा छँदा आफूले लगाएको लुगा फुकाल्छे र त्यो तिम्रो घरमा बसी आफ्ना बुबाआमाको लागि एक वर्षसम्म शोक गर्छे । त्यसपछि तिमी त्योसित सुत्‍न सक्छौ र त्यसको पति हुन सक्छौ र त्यो तिम्री पत्‍नी हुन्छे । 14 तर तिमीले त्यसमा रुचि देखाएनौ भने त्यसलाई इच्छा लागेको ठाउँमा जान दिनू । तथापि तिमीले त्यसलाई पैसामा नबेच्नू, त्यसलाई कमारीलाई जस्तै व्यवहार नगर्नू किनकि तिमीले त्यसको सतीत्व नष्‍ट गरेका छौ । 15 कुनै मानिसका दुई पत्‍नी छन् र त्यसले एउटालाई माया गर्छ र अर्कीलाई घृणा गर्छ अनि दुवै जनाले सन्तान जन्माएका छन् भने अनि घृणा गरिनेले चाहिँ जेठो छोरो जन्माएको छ भने 16 अंशबन्डा गर्दा माया गर्नेको छोरा भनेर माया नगर्नेको खास जेठो छोरोलाई उछिनेर पिताले कान्छोलाई अधिकार दिन मिल्दैन । 17 बरु, त्यसले घृणा गरिएकी पत्‍नीको छोरोलाई नै आफ्ना सबै सम्पत्तिको दोब्बर भाग दिएर जेठो हो भनी मान्यता देओस् । किनकि त्यो छोरो नै त्यसको शक्तिको सुरु हो । जेठोको हक त्यसको नै हो । 18 कुनै मानिसको हठी र विर्दोही छोरो छ जसले आफ्ना बुबा वा आमाको कुरा मान्दैन वा र तिनीहरूले त्यसलाई सुधार्दा पनि त्यो सुध्रदैन भने 19 त्यसका बुबाआमाले त्यसलाई समातेर सहरका धर्म-गुरुहरूकहाँ सहरका ढोकाहरूमा ल्याऊन् । 20 तिनीहरूले धर्म-गुरुहरूलाई यसो भनून्, 'यो हाम्रो छोरो हठी र विर्दोही छ । यसले हाम्रो कुरा मान्दैन । यो लफङ्गो र मतवाला हो ।' 21 तब सहरका सबै मानिसले त्यसलाई ढुङ्गाले हानेर मारून् । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टतालाई हटाउने छौ । सारा इस्राएली यो सुनेर डराउने छन् । 22 कुनै मानिसले मृत्यु योग्यको पाप गरेको छ र त्यसलाई मृत्युदण्ड दिँदा त्यसलाई रुखमा झुण्ड्यायौ भने 23 त्यसको लाश रातभरि रुखमा नरहोस् । बरु, त्यसलाई त्यही दिनमा नै गाडिदिनू । किनकि जो झुण्ड्याइन्छ त्यो परमप्रभुबाट श्रापित हुन्छ । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने देशलाई तिमीहरूले बिटुलो नपार भनेर यो आज्ञा पालन गर ।