22
आफ्नो इस्राएली छिमेकीको गोरु वा भेडा तर्केर गएको देख्दा त्यसलाई नदेखेको जस्तो नगर्नू । तिमीले त्यसलाई फर्काएर त्यसकहाँ ल्याइदिनू । तिम्रो इस्राएली छिमेकी तिम्रो नजिक छैन भने वा तिमीले त्यसलाई चिन्दैनौ भने तिमीले त्यो पशु आफ्नो घरमा ल्याउनू र छिमेकीले नखोजेसम्म त्यो तिम्रो घरमा हुने छ । तब यो तिमीले त्यसलाई दिनू । त्यसको गधाको मामलामा पनि यसै गर्नू; त्यसको लुगाको सवालमा पनि यसै गर्नू । तिम्रो इस्राएली छिमेकीको हराएको कुनै पनि कुरो पाइएको खण्डमा यसै गर्नू । तिमीले आफ्नै लागि नलुकाउनू । तिम्रो इस्राएली छिमेकीको गधा वा गोरु बाटोमा लोटेको देख्यौ भने नदेखेको जस्तो नगर्नू । त्यसलाई उठाउन मदत गर्नू । पुरुषले लगाउने वस्‍त्र स्‍त्रीले लगाउनुहुँदैन न त स्‍त्रीले लगाउने वस्‍त्र पुरुषले लगाउनुहुन्छ । किनकि यी कुरा गर्ने जोसुकै परमप्रभु तिमीहरूका परमेश्‍वरका लागि घृणित हुने छ । कुनै बाटो वा रुख वा भुइँमा बचेरो वा फुलमा माउ बसिरहेको देख्यौ भने माउलाई बचेरोसँगै नलैजानू । माउलाई जान दिएर बचेरोलाई लैजान सक्छौ । यो आज्ञालाई पालन गर ताकि तिमीहरूको भलो हुन सकोस्, र तिमीहरूको आयु लामो होस् । तिमीहरूले नयाँ घर बनाउँदा छतको चारैतिर बार लगाउनू ताकि त्यहाँबाट कोही लड्यो भने त्यसको दोष तिमीहरूको घरलाई नलागोस् । तिमीहरूले दाखबारीमा दुई किसिमका बिउ नलागाउनू । नत्रता तिमीहरूले त्यसो गर्‍यौ भने तिमीहरूले लगाएको बिउ मात्र नभई दाखबारीसमेत अपवित्र हुने छ । 10 गोरु र गधा सँगसँगै नारेर नजोत्‍नू । 11 ऊन र सुती मिसाएर बनाइएको लुगा नलगाउनू । 12 तिमीहरूले लगाउने लुगाको चारै कुनामा झुम्का लगाउनू । 13 मानौँ, कसैले विवाह गरेर पत्‍नीसित सुतिसकेपछि त्यसलाई घृणा गर्छ र 14 र बदनाम गराउने नियतले पत्‍नीलाई यसो भन्छ, 'मैले यो स्‍त्रीलाई ल्याएँ, तर म त्योसित सुत्‍न जाँदा त्यो कन्या केटी भएको पाइनँ ।' 15 तब त्यस केटीका बुबाआमाले सहरको मूल ढोकामा धर्म-गुरुहरूकहाँ त्यसको कुमारीत्वको प्रमाण ल्याउनुपर्छ । 16 केटीका बुबाले धर्म-गुरुहरूलाई यसो भन्‍नुपर्छ, 'मैले यो मानिसलाई मेरी छोरी त्यसकी पत्‍नी हुनलाई दिएँ र त्यसले यसलाई घृणा गर्छ । 17 हेर, त्यसले यसलाई घृणा गरी लाजमर्दो अभियोग लगाएको छ, “मैले तिम्री छोरीमा कुमारीत्वको प्रमाण पाइनँ ।” तर मेरी छोरीको कुमारीत्वको प्रमाण यहाँ छ ।' तब तिनीहरूले सहरका धर्म-गुरुहरूको सामु त्यो लुगा फिँजाओस् । 18 त्यस सहरका धर्म-गुरुहरूले त्यस पुरुषलाई समातेर दण्ड दिऊन् । 19 अनि तिनीहरूले त्यसलाई चाँदीको एक सय सिक्‍काको जरिवाना तिराई त्यो केटी र केटीका पितालाई दिऊन् किनकि त्यस मानिसले इस्राएलको कुमारीत्वको बारेमा कलङ्क लगाएको छ । त्यो केटी त्यसकै पत्‍नी हुनुपर्छ । त्यसले जीवनभर त्यस केटीलाई त्याग्‍न पाउँदैन । 20 तर केटीमा कुमारीत्वको प्रमाण नपाइएको कुरो साँचो रहेछ भने 21 तिनीहरूले केटीलाई त्यसका बुबाको घरको ढोकामा ल्याऊन्, र सहरका मानिसहरूले त्यसलाई ढुङ्गाले हानेर मारून् किनकि त्यसले इस्राएलमा आफ्नो पिताको घरमा वेश्यावृत्तिको कार्य गरी लाजमर्दो काम गरेकी छे । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टता हटाउनू । 22 कुनै पुरुषले अर्काकी पत्‍नीसित सहवास गरिरहेको फेला पर्‍यो भने सहवास गर्ने पुरुष र स्‍त्री दुवै जना मारिऊन् । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टता हटाउनू । 23 कुनै कन्या केटीको कुनै पुरुषसित मगनी भएको छ र अर्को पुरुषले सहरमा त्योसित सहवास गर्‍यो भने 24 दुवै जनालाई सहरको मूल ढोकामा ल्याई ढुङ्गाले हानेर मार्नू । सहरभित्र भएर पनि केटी नचिच्‍च्याएकीले त्यसलाई ढुङ्गाले हानेर मार्नू । आफ्नो छिमेकीकी पत्‍नीको सतीत्व नष्‍ट गरेकोले पुरुषलाई ढुङ्गाले हानेर मार्नू । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टता हटाउनू । 25 तर कुनै पुरुषले मगनी भएकी केटीलाई खेतमा फेला पारी त्योसित जबरजस्ती सहवास गरेको रहेछ भने पुरुष मात्र मारियोस् । 26 तर केटीलाई चाहिँ केही नगर्नू । केटीले मृत्युदण्ड पाउने कुनै काम गरेकी छैन । यो कुनै मानिसले आफ्नो छिमेकीलाई आक्रमण गरी मारेको जस्तै सवाल हो । 27 किनकि पुरुषले स्‍त्रीलाई खेतमा फेला पारेको थियो र मगनी भएकी केटी चिच्‍च्याइकी थिई, तर त्यसलाई बचाउन त्यहाँ कोही थिएन । 28 कुनै पुरुषले मगनी नभएकी केटीलाई फेला पारी त्यससित जबरजस्ती सहवास गर्‍यो र त्यो कुरो प्रकाशमा आयो भने 29 त्यस पुरुषले केटीका बुबालाई चाँदीका पचास सिक्‍का देओस्, र त्यो केटी त्यसकी पत्‍नी होस् किनकि त्यसले केटीलाई अपमान गरेको छ । त्यसको जीवनभर त्यसले केटीलाई त्याग्‍न पाउँदैन । 30 कुनै मानिसले आफ्नो बुबाकी पत्‍नीलाई आफ्नी पत्‍नी नतुल्याओस् । त्यसले आफ्ना बुबाको वैवाहिक अधिकारलाई हरण गर्नुहुँदैन ।