29
होरेबमा परमप्रभुले इस्राएलीहरूसित बाँध्‍नुभएको करारबाहेक मोआब देशमा परमप्रभुले मोशामार्फत इस्राएलीहरूलाई दिनुभएका वचनहरू यी नै हुन् । मोशाले सारा इस्राएलीलाई डाकेर भने, “मिश्र देशमा फारो, तिनका सबै अधिकारी र तिनका सबै देशमा परमप्रभुले तिमीहरूका सामु गर्नुभएको हरेक कुरा तिमीहरूले देखेका छौ । तिमीहरूका आँखाले डरलाग्दो दुःखकष्‍ट, चिन्ह र आश्‍चर्यहरू देख्यौ । तर आजको दिनसम्म परमप्रभुले तिमीहरूलाई जान्‍ने ह्रदय, देख्‍ने आँखा वा सुन्‍ने कान दिनुभएको छैन । मैले तिमीहरूलाई चालिस वर्षसम्म उजाड-स्थानमा अगुवाइ गरेको छु । तिमीहरूका लुगा फाटिएन, न त तिमीहरूका जुत्ता च्यातिए । तिमीहरूले अरू कुनै रोटी खाएनौ, न त तिमीहरूले कुनै अरू मद्य पियौ ताकि म नै परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍न सक । तिमीहरू यस ठाउँमा आउँदा हेश्बोनका राजा सीहोन र बाशानका राजा ओग तिमीहरूको विरुद्धमा युद्ध गर्न आए र हामीले तिनीहरूलाई परास्त गर्‍यौँ । हामीले तिनीहरूको देश कब्जा गरी रूबेनीहरू, गादीहरू र मनेश्शेको आधा कुललाई पैतृक सम्पत्तिको रूपमा दियौँ । त्यसकारण, तिमीहरूले गर्ने हरेक कुरामा तिमीहरूको उन्‍नति होस् भनेर यस करारका वचनहरू पालग गर र मान । 10 आज तिमीहरूका नायक, कुल, धर्म-गुरु, अधिकृत र इस्राएलका सबै मानिस परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु खडा छौ । 11 तिमीहरूका छोराछोरीहरू, पत्‍नीहरू, तिमीहरूको छाउनीमा भएका परदेशी, दाउरे र पनेरे सबै उहाँको सामु खडा छौ । 12 आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको करारभित्र प्रवेश गर्न र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसित खान लाग्‍नुभएको शपथभित्र प्रवेश गर्दै छौ 13 ताकि आज उहाँले तिमीहरूलाई आफ्नै जाति बनाउनुभएको होस् र उहाँले भन्‍नुभएझैँ उहाँले तिमीहरूका पिता-पुर्खाहरू अब्राहाम, इसहाक र याकूबसित प्रतिज्ञा गर्नुभएअनुसार उहाँ तिमीहरूका परमेश्‍वर होऊन् । 14 किनकि मैले यो करार र यो शपथ आज परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु 15 यहाँ उभिनेहरूसित मात्र नभएर आज हामीसित यहाँ नहुनेहरूसित पनि बाँध्दै छु । 16 हामी मिश्रमा कसरी बस्यौँ र जाति-जातिहरूका बिचबाट हामी कसरी आयौँ भनी तिमीहरू जान्दछौ । 17 तिनीहरूका बिचमा भएका काठ र ढुङ्गा, चाँदी र सुनले बनेका घिनलाग्दा मूर्तिहरूलाई तिमीहरूले देखेका छौ । 18 तिमीहरूका बिचमा भएका कुनै पुरुष, स्‍त्री, घराना, कुलको ह्रदय परमप्रभु हाम्रा परमेश्‍वरबाट तर्केर गई ती जातिहरूका देवताहरूको पुजा गर्न पछि नलागोस् भन्‍ने कुरामा निश्‍चित होओ । तिमीहरूका बिचमा यस्तो तितो विष उत्पन्‍न गर्ने कोही नहोस् । 19 त्यस्तो व्यक्तिले यो श्रापका वचनहरू सुन्दा त्यसले आफैलाई आशिष् दिई आफ्नो ह्रदयमा यसो भन्छ, 'म मेरो ह्रदयको हठीपनामा हिँडे तापनि मसित शान्ति हुने छ ।' यसले सुक्खा जमिनसँगै भिजेको जमिनलाई पनि नष्‍ट गर्ने छ । 20 परमप्रभुले त्यसलाई क्षमा दिनुहुने छैन, बरु परमप्रभुको क्रोध र उहाँको डाह त्यो मानिसको विरुद्धमा दन्कने छ अनि यस पुस्तकमा लेखिएका सबै श्राप त्यसमाथि आउने छन् । यसरी परमप्रभुले आकाशमुनिबाट त्यसको नाउँ मेटिदिनुहुने छ । 21 व्यवस्थाको यस पुस्तकमा लेखिएका करारका सबै श्रापअनुसार परमप्रभुले त्यसलाई इस्राएलका सबै कुलबाट विनाशको निम्ति अलग गर्नुहुने छ । 22 तिमीहरूपछि आउने पुस्ता अर्थात् तिमीहरूका सन्तान र सुदूर देशबाट आउने परदेशीले यस देशमा आइपरेका विपत्तिहरू र परमप्रभुले ल्याउनुभएका विपत्तिहरू देख्दा तिनीहरूले यस बारेमा भन्‍ने छन् । 23 परमप्रभुले आफ्नो रिस र क्रोधमा सदोम र गमोरा, अदमा र सबोयीमलाई नष्‍ट पार्नुभएझैँ समस्त देशमा गन्धक र नून जलेको खाक मात्र हुने छ । 24 अन्य जातिहरूसँगै तिनीहरूले भन्‍ने छन्, 'किन परमप्रभुले यस देशलाई यसो गर्नुभएको ? यो डरलाग्दो रिसको मतलब के हो ?' 25 मानिसहरूले भन्‍ने छन्, 'तिनीहरूले मिश्रबाट ल्याउनुहुने परमप्रभु तिनीहरूका पिता-पुर्खाहरूका परमेश्‍वरले तिनीहरूसित बाँध्‍नुभएको करार त्यागेकाले गर्दा यसो भएको हो । 26 तिनीहरू आफूले नचिनेका र उहाँले तिनीहरूलाई नदिनुभएको अन्य देवताहरूको पछि लागी तिनीहरूको सेवा गरेकाले र तिनीहरूका सामु निहुरेकाले गर्दा यसो भएको हो । 27 त्यसकारण, यस पुस्तकमा लेखिएका सबै श्राप आउने गरी परमप्रभुको रिस यस देशको विरुद्धमा दन्किएको हो । 28 परमप्रभुले आफ्नो रिस, क्रोध र भयानक कोपमा तिनीहरूलाई तिनीहरूको देशबाट जरैदेखि उखेली अर्को देशमा फ्याँक्‍नुभएको छ, जस्तो आज छ ।' 29 गुप्‍त कुराहरू परमप्रभु हाम्रा परमेश्‍वरका मात्र हुन् । तर प्रकट भएका कुराहरू सदाको निम्ति हाम्रा र हाम्रा सन्तानहरूका हुन् ताकि हामीले यस व्यवस्थाका सबै वचन पालन गर्न सकूँ ।