30
जब मैले तिमीहरूका सामु राखिदिएका यी सबै आशिष् र श्राप तिमीहरूमाथि आइपर्ने छन्, र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अन्य जातिहरूका बिचमा धपाउनुभएपछि जब तिमीहरूले यी सम्झने छौ, र तिमीहरूका सारा हृदय र प्राणले आज मैले तिमीहरू र तिमीहरूका सन्तानलाई आज्ञा गरेका यी सबै वचनलाई पालन गरेर तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरकहाँ फर्कंदा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको निर्वासनलाई उल्ट्याइदिनुहुने छ र तिमीहरूलाई टिठ्याउनुहुने छ । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तितर-बितर पार्नुभएका सबै जातिबाट तिमीहरूलाई फर्काएर ल्याई तिमीहरूलाई एकत्रित गर्नुहुने छ । तिमीहरूको कुनै पनि मानिस निर्वासित भएर आकाशमुनिको सबैभन्दा टाढा लगिए तापनि परमेश्‍वरले तिमीहरूलाई जम्मा गरी ल्याउनुहुने छ । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूका पिता-पुर्खाहरूले अधिकार गर्नुभएको र तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूलाई ल्याउनुहुने छ । उहाँले तिमीहरूको भलो गर्नुहुने छ र तिमीहरूका पिता-पुर्खाहरूभन्दा तिमीहरूलाई सङ्ख्यामा वृद्धि गर्नुहुने छ । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू र तिमीहरूका सन्तानहरूका हृदयको खतना गरिदिनुहुने छ अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सारा हृदयले प्रेम गर्ने छौ अनि तिमीहरू जीवित हुने छौ । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई घृणा गर्ने र तिमीहरूको खेदो गर्ने तिमीहरूका शत्रुहरूमाथि यी सबै श्राप ल्याउनुहुने छ । तिमीहरू फर्केर परमप्रभुको आवाज सुन्‍ने छौ, र आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञा पालन गर्ने छौ । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको देशका सबै काम, तिमीहरूका सन्तान, तिमीहरूका बाछा-बाछी, तिमीहरूको भूमिको फलमा प्रचुर मात्रामा उन्‍नति गराइदिनुहुने छ । किनकि परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूमा आनन्द मनाउनुभएझैँ तिमीहरूको उन्‍नतिमा पनि आनन्द मनाउनहुने छ । 10 तिमीहरूका सारा हृदय र सारा प्राणले परमप्रभु तिमीहरूका परमेश्‍वरमा फर्की व्यवस्थाको यस पुस्तकमा लेखिएका उहाँका आज्ञाहरू र निर्देशनहरू पालन गर्न परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा मान्यौ भने उहाँले यसो गर्नुहुने छ । 11 किनकि आज मैले तिमीहरूलाई दिएको यो आज्ञा तिमीहरूका निम्ति कठिन छैन, न त प्राप्‍तै गर्न नसक्‍ने गरी टाढा छ । 12 'हामीले पालन गर्न सकूँ भनेर हाम्रो निम्ति स्वर्गमा गई यसलाई तल ल्याएर हामीलाई बताउने को छ ?' भनी तिमीहरूले भन्‍नुपर्ने गरी यो स्वर्गमा छैन । 13 'हामीले पालन गर्न सकूँ भनेर हाम्रो निम्ति सागर पार गरी यसलाई ल्याएर हामीलाई बताउने को छ ?' भनी तिमीहरूले भन्‍नुपर्ने गरी यो समुद्रपारि छैन । 14 तर तिमीहरूले पालन गर्न सक्‍ने गरी वचन तिमीहरूको नजिकै छ अर्थात् तिमीहरूको मुख र हृदयमा छ । 15 हेर, आज मैले तिमीहरूका सामु जीवन र भलाइ, मृत्यु र दुष्‍ट्याइँ राखिदिएको छु । 16 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका मार्गहरूमा हिँड्न र उहाँका आज्ञाहरूसाथै उहाँका निर्देशनहरू, विधिविधानहरू पालन गर्न आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आदेशहरू पालन गर्‍यौ भने तिमीहरू बाँच्ने छौ र तिमीहरूको वृद्धि हुने छ अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू प्रवेश गर्न लागेका देशमा तिमीहरूलाई आशिष् दिनुहुने छ । 17 तर तिमीहरूका हृदय बरालिएर अटेरी भयौ र अरू देवताहरूप्रति आकर्षित भएर तिनीहरूको सामु निहुरी तिनीहरूको पुजा गर्‍यौ भने 18 तिमीहरू पक्‍कै नष्‍ट हुने छौ भनी आज म घोषणा गर्दछु । यर्दनपारि गएर तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूको आयु लामो हुने छैन । 19 तिमीहरूको सामु मैले जीवन र मृत्यु अनि आशिष् र श्राप राखिदिएको छु भनी तिमीहरूको विरुद्धमा गवाही दिन आज मैले स्वर्ग र पृथ्वीलाई साक्षी राखेको छु । त्यसकारण, तिमीहरू र तिमीहरूका सन्तानहरू बाँच्न सकून् भनी जीवन रोज । 20 परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँको कुरा पालन गर्न र उहाँमा टाँसिनका लागि यसलाई मान्‍नू । किनकि उहाँ नै तिमीहरूको जीवन र तिमीहरूको दीर्घायु हुनुहुन्छ । परमप्रभुले तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरू अब्राहाम, इसहाक, याकूबसित प्रतिज्ञा गर्नुभएको यो देशमा तिमीहरू बाँच्न सक भन्‍नलाई यो आज्ञा मान्‍नू ।