3
यसपछि अय्यूबले आफ्नो मुख खोले, र आफू जन्मेको दिनलाई सरापे । तिनले भने, “म जन्मेको दिन नष्‍ट होस्, त्‍यो रात जसले भन्‍यो, 'एउटा बालकको गर्भधारण भएको छ ।' त्यो दिन अन्धकार होस् । परमेश्‍वरले माथिबाट त्‍यसलाई याद नगरून्, न त यसमा घाम लागोस् । अन्धकार र मृत्युको छायाले आफ्नो लागि यसलाई दाबी गरून् । यसमाथि बादल लागोस् । दिनलाई अँध्यारो बनाउने हरेक कुराले यसलाई साँच्‍चै त्रसित पारोस् । निस्पट्ट अँध्यारोले त्यो रातलाई समातोस् । वर्षका दिनहरूका बिचमा यो नरमाओस् । महिनाहरूको गन्तीमा यसको गणना नहोस् । हेर, त्यो रात बाँझो होस् । यसमा कुनै हर्षको सोर नआओस् । लिव्यातन्‌लाई कसरी ब्युँझाउने भनी जानेकाहरूले, त्यस दिनलाई सराप दिऊन् । त्यो दिनको बिहानका ताराहरू अँध्यारो होऊन् । त्यो दिनले ज्योति खोजोस्, तर नपाओस्, न त यसले मिरमरेको प्रथम किरणलाई देख्‍न पाओस् । 10 किनभने यसले मेरी आमाको गर्भको ढोकालाई थुनेन, र किनभने यसले मेरा आँखाबाट कष्‍टलाई लुकाएन । 11 मेरी आमाको गर्भबाट बाहिर निस्कँदा म किन मरिनँ ? मेरी आमाले मलाई जन्माउँदा मैले आफ्‍नो आत्मा किन त्यागिनँ ? 12 उनका घुँडाहरूले मलाई किन स्वागत गरे ? मैले दूध चुस्‍नलाई उनका स्तनहरूले मलाई किन स्वीकार गरे ? 13 किनकि अहिले म चुप लागेर बसिरहेको हुन्‍थें । म सुतेको हुन्‍थें, र विश्राममा हुन्‍थें, 14 पृथ्वीका राजाहरू र सल्लाहकारहरूका साथमा, जसले आफ्नै लागि चिहानहरू बनाए, जुन अहिले ध्‍वस्‍त छन् । 15 अर्थात् ती राजकुमारहरूसित म सुतिरहेको हुन्‍थें, जससित कुनै बेला सुन थियो, जसले आफ्ना घरहरूलाई चाँदीले भरेका थिए । 16 अर्थात् सायद म तुहेर जन्‍मने थिएँ, कदापि उज्‍यालो नदेख्‍ने शिशुहरूझैं हुन्‍थें । 17 त्यहाँ दुष्‍टको अत्‍याचार सकिन्‍छ । त्यहाँ थाकितहरूले विश्राममा लिन्छन् । 18 त्यहाँ कैदीहरू सँगसँगै चैनमा हुन्छन् । तिनीहरूले कमाराको नाइकेको सोर सुन्‍नुपर्दैन । 19 त्यहाँ साना र ठुला दुवै थरिका मानिसहरू छन् । नोकर आफ्नो मालिकबाट स्‍वतन्‍त्र हुन्छ । 20 दुःखमा हुनेलाई किन ज्योति दिइन्छ ? मनमा तितो हुनेलाई किन जीवन दिइन्छ ? 21 जसले मृत्यु नै नआई त्‍यसको प्रतीक्षा गर्छ, जसले गाड्धनभन्‍दा धेरै मृत्यको लागि खाडल खन्‍छ । 22 जसले चिहान फेला पार्दा ज्यादै रमाउँछ र खुसी हुन्छ, त्‍यसलाई ज्योति किन दिइन्छ ? 23 जसको मार्ग लुकाइएको छ, र जुन मानिसलाई परमेश्‍वरले छेक्‍नुभएको छ, त्यस मानिसलाई ज्योति किन दिइन्छ ? 24 किनकि मैले खानुको साटो सुस्केरा हाल्छु । मेरो वेदनाको सोर पानीझैं पोखिन्छ । 25 जुन कुरोदेखि म डराउँथेँ, त्यही मकहाँ आएको छ । म जेदेखि भयभीत हुन्थेँ, त्यही मकहाँ आएको छ । 26 म चैनमा छैनँ, म मौन छैनँ, र मलाई विश्राम छैन । बरु सङ्कष्‍ट आउँछ ।”