4
तब एलीपज तेमानीले जवाफ दिए र भने, “कसैलाई तपाईंसित कुरा गर्ने प्रयास गर्‍यो भने के तपाईं अधैर्य बन्‍नुहुन्छ ? तर कसले आफैलाई बोल्नबाट रोक्‍न सक्छ ? हेर्नुहोस्, तपाईंले धेरैलाई शिक्षा दिनुभएको छ । तपाईंले दुर्बल हातहरूलाई बलियो पार्नुभएको छ । तपाईंका वचनहरूले त्‍यस्‍तोलाई सम्‍हालेको छ जो पतन हुँदै थियो। तपाईंले कमजोर घुँडाहरूलाई दरिलो पार्नुभएको छ । तर अहिले सङ्कष्‍ट तपाईंमा आएको छ, र तपाईं थकित हुनुहुन्छ । यसले तपाईंलाई छोएको छ, र तपाईंलाई कष्‍ट भएको छ । के तपाईंको डर तपाईंको निश्‍चयता, अनि तपाईंका मार्गहरूका सत्यनिष्ठा तपाईंको आशा होइन र ? कृपा गरी यस विषयमा सोच्नुहोस्: निर्दोष हुँदा पनि कुनै व्‍यक्‍ति कहिलै नष्‍ट भएको छ र ? अर्थात् सोझा मानिसहरू कहिले मारिएका थिए र ? जे मैले देखेको छु त्‍यसअनुसार, अधर्म जोत्‍नेहरू र कष्‍ट छर्नेहरूले नै त्यसको कटनी गर्छन् । परमेश्‍वरको सासले तिनीहरू नष्‍ट हुन्छन् । उहाँको क्रोधको बिष्‍फोटले तिनीहरू भस्म हुन्छन् । 10 सिंहको गर्जन, हिंस्रक सिंहको सोर र जवान सिंहहरूका दाँत— ती भाँचिएका छन् । 11 सिकारको अभावले बुढो सिंह नष्‍ट हुन्छ । सिंहनीका डमरुहरू जताततै छरपष्‍ट भएका हुन्‍छन् । 12 यति बेला कुनै कुरा गुप्‍तमा मकहाँ ल्याइयो, र मेरो कानले यसको बारेमा कानेखुसी सुन्यो । 13 जब मानिसहरू घोर निद्रामा पर्छन्, तब रातको सपनाहरूद्वारा विचारहरू आए । 14 त्‍यो रातमा नै थियो जुन बेला ममाथि डर र त्रास आए, र मेरा सबै हड्‍डी कामे । 15 तब मेरै अनुहारको सामुन्‍नेबाट एउटा आत्मा गयो, र मेरो शरीरको रौं ठाडो भयो । 16 त्यो आत्मा खडा भयो, तर त्‍यसको दृष्‍यलाई मैले ठम्याउन सकिनँ । त्यसको स्‍वरूप मेरा आँखाकै सामु थियो । त्यहाँ मौनता थियो, र मैले यसो भनेको एउटा आवाज सुनें, 17 “के मरणशील मानिस परमेश्‍वरभन्दा बढी धर्मी हुन्छ र ? के मानिस आफूलाई बनाउनेभन्दा बढी शुद्ध हुन्छ ? 18 हेर्नुहोस्, परमेश्‍वरले आफ्ना सेवकहरूमाथि भरोसा गर्नुहुन्‍न भने, उहाँले आफ्ना स्वर्गदूतहरूलाई मूर्खताको दोष लगाउनुहुन्छ भने, 19 माटोका घरहरूमा बस्‍नेहरूको बारेमा झन् यो कति साँचो हुन्छ ? जसको जग धूलोमा छ, जो कीराभन्दा चाँडै कुल्चिमिल्ची पारिन्छन् । 20 बिहान र बेलुकीको बिचमा तिनीहरू नष्‍ट हुन्छन् । कसैको जानकारीविना नै तिनीहरू सदाको लागि नष्‍ट हुन्छन् । 21 के तिनीहरूका पालका डोरीहरू तिनीहरूकै बिचमा तानिएका छैनन् र ? तिनीहरू मर्छन् । तिनीहरू बुद्धिविना मर्छन् ।