12
अनुशासनलाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्दछ, तर सुधारलाई घृणा गर्नेचाहिँ अबुझ हो । परमप्रभुले असल मानिसलाई स्‍नेह देखाउनुहुन्छ, तर दुष्‍ट योजनाहरू रच्ने मानिसलाई उहाँले दोषी ठहराउनुहुन्छ । दुष्‍टताद्वारा मानिस स्थापित हुन सक्दैन, तर धर्मी मानिसहरूलाई जरैदेखि उखेल्न सकिँदैन । चरित्रवान् पत्‍नी आफ्नो पतिको मुकुट हो, तर लाज ल्याउने पत्‍नीचाहिँ आफ्नो हड्‍डी सडाउने रोगजस्तै हो । धर्मीका योजनाहरू न्यायपूर्ण हुन्छन्, तर दुष्‍टको सल्लाह छलपूर्ण हुन्छ । दुष्‍ट मानिसका वचनहरू हत्या गर्ने मौकाको प्रतीक्षा गर्ने पासो हुन्, तर धर्मीहरूका वचनहरूले तिनीहरूलाई सुरक्षित राख्छन् । दुष्‍ट मानिसहरू फालिन्छन्, र तिनीहरू रहँदैनन्, तर धर्मी मानिसहरूको घर खड रहने छ । मानिसलाई त्यसको बुद्धिअनुसार प्रशंसा गरिन्छ, तर टेडो रोजाइ गर्नेचाहिँ तुच्छ ठानिन्छ । आफ्नो प्रतिष्‍ठाबारे घमण्ड गरेर भोजन नहुनुभन्दा बरु नोकर भएर महत्वहीन पदमा बस्‍नु बेस हो । 10 धर्मात्माले आफ्नो पशुका आवश्यकताहरूको वास्ता गर्छ, तर दुष्‍टको दया पनि क्रुर हुन्छ । 11 आफ्नो खेतबारी खनजोत गर्नेले प्रशस्त अन्‍न उब्जाउने छ, तर बेकामको कामको पछि कुद्‍नेचाहिँ बेसमझको हुन्छ । 12 दुष्‍टले खराब मानिसहरूले अरूबाट चोरेको वस्तुको इच्छा गर्छ, तर धर्मी मानिसहरूको फल तिनीहरू आफैबाट आउँछ । 13 दुष्‍ट व्यक्ति त्यसकै खराब बोलीवचनबाट पासोमा पर्छ, तर धर्मी व्यक्तिचाहिँ सङ्कष्‍टबाट उम्कन्छ । 14 जसरी आफ्नो हातको कामले मानिसलाई इनाम दिन्छ, त्यसै गरी आफ्नै वचनको फलबाट ऊ असल थोकहरूले भरिन्छ । 15 मूर्खको बाटो त्यसको आफ्नै दृष्‍टिमा ठिक हुन्छ, तर बुद्धिमान् मानिसले सरसल्लाह सुन्छ । 16 मूर्खले आफ्नो रिस तुरुन्तै देखाउँछ, तर अपमानलाई बेवास्ता गर्नेचाहिँ विवेकी मानिस हो । 17 सत्य बोल्नेले ठिक कुरा बोल्छ, तर झुटो साक्षीले झुटो कुरा बोल्छ । 18 असावधानसाथ बोल्नेका वचनहरू तरवारको घोचाइझैँ हुन्छन्, तर बुद्धिमान्‌को बोलीले चङ्गाइ ल्याउँछ । 19 सत्य बोल्ने ओठ सधैँभरि रहिरहन्छ, तर झुट बोल्ने जिब्रो केही क्षण मात्र टिक्छ । 20 खराबी गर्ने योजना बनाउनेहरूको हृदयमा छल हुन्छ, तर शान्तिका परामर्शदाताहरूमा आनन्द आउँछ । 21 धर्मात्मामाथि कुनै हानि आइपर्दैन, तर दुष्‍टचाहिँ कठिनाइहरूले भरिएको हुन्छ । 22 परमप्रभुले झुट बोल्ने ओठलाई घृणा गर्नुहुन्छ, तर विश्‍वासयोग्यसाथ जिउनेहरू उहाँका आनन्द हुन् । 23 विवेकशील मानिसले आफ्नो ज्ञान लुकाएर राख्छ, तर मूर्खहरूको हृदयले मूर्खता प्रकट गर्छ । 24 परिश्रमीको हातले शासन गर्ने छ, तर अल्छे मानिसलाई जबरजस्ती काम लगाइने छ । 25 मानिसको हृदयमा भएको चिन्ताले उसलाई कमजोर तुल्याउँछ, तर असल वचनले उसलाई प्रसन्‍न पार्छ । 26 धर्मात्मा उसको मित्रको लागि पथ-प्रदर्शक हो, तर दुष्‍टहरूको चालले तिनीहरूलाई बरालिदिन्छ । 27 अल्छे मानिसले आफ्नो सिकार फेला पार्दैन, तर परिश्रमी मानिसले बहुमूल्य सम्पत्ति पाउने छ । 28 ठिक मार्गमा हिँड्नेहरूले जीवन पाउने छ, र त्यस मार्गमा मृत्यु हुँदैन ।