13
बुद्धिमान् छोरोले आफ्नो बुबाको अर्ती सुन्छ, तर गिल्ला गर्नेले हप्कीलाई सुन्दैन । आफ्नो मुखको फलबाट मानिसले असल थोकहरूको भोग गर्दछ, तर विश्‍वासघातिको भोक हिंसाको लागि हुन्छ । आफ्नो मुखको रखवाली गर्नेले आफ्नो जीवनको रक्षा गर्छ, तर असावधान बोलीवचनले आफ्नै जीवन बर्बाद गर्ने छ । अल्छे मानिसको भोकले लालस गर्छ, तर केही पाउँदैन, जब कि परिश्रमी मानिसको भोक पूर्ण रूपमा सन्तुष्‍ट हुने छ । धर्मात्माले झुटलाई घृणा गर्छ, तर दुष्‍टले आफैलाई घृणित तुल्याउँछ, र लज्‍जास्पद कुरो गर्छ । धार्मिकताले ती मानिसहरूको रक्षा गर्छ, जो आफ्नो मार्गमा दोषरहित छन्, तर दुष्‍टताले पाप गर्नेहरूलाई पल्टाइदिन्छ । कोही मानिस धनी भएजस्तो गर्छ, जब कि त्योसँग केही हुँदैन, र कसैले चाहिँ आफूसित भएको हरेक थोक दिन्छ, र पनि त्यो साँच्‍चै धनी हुन्छ । धनी मानिसको जीवनको छुटकारा उसको सम्पत्ति हो, तर गरिब मानिसले धम्की सुन्‍नुपर्दैन । धर्मात्माको बत्ती बलिरहन्छ, तर दुष्‍टको बत्ती निभाइने छ । 10 घमण्डले केवल द्वन्द्व निम्त्याउँछ, तर असल सल्लाह सुन्‍नेसित बुद्धि हुन्छ । 11 बेइमानीसित कमाएको धनको महत्त्व घट्दै जान्छ, तर आफ्नो हातले परिश्रम गरेर कमाएको धन बढ्दै जान्छ । 12 आशालाई स्थगित गरिँदा यसले हृदय छिया-छिया पार्छ, तर पुरा भएको तृष्णा जीवनको रुख हो । 13 अर्तीलाई तुच्छ ठान्‍नेले आफैमा विनाश ल्याउँछ, तर आज्ञालाई आदर गर्नेलाई इनाम दिइने छ । 14 बुद्धिमान् मानिसको शिक्षा जीवनको फुहारा हो, जसले तपाईंलाई मृत्युका जालहरूबाट जोगाउँछ । 15 असल अन्तर्दृष्‍टिले स्‍नेह प्राप्‍त गर्छ, तर विश्‍वासघातिको चाल कहिल्यै टुङ्गोमा आउँदैन । 16 समझदार मानिसले आफ्नो ज्ञानअनुसार हरेक निर्णय गर्छ, तर मूर्खले आफ्नो मूर्खताको तमाशा देखाउँछ । 17 दुष्‍ट दूत सङ्कष्‍टमा फस्छ, तर विश्‍वासयोग्य दूतले मिलाप ल्याउँछ । 18 अर्तीलाई बेवास्ता गर्नेले गरिबी र लाज पाउने छ, तर सुधारबाट सिक्‍ने जनमा आदर आउने छ । 19 पुरा भएको इच्छा भोकको लागि मिठो हुन्छ, तर मूर्खहरू आफ्नो दुष्‍टताबाट फर्कन मन पराउँदैनन् । 20 बुद्धिमान् मानिसहरूसित हिँड र तिमी पनि बुद्धिमान् हुने छौ, तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्‍ने छ । 21 विपत्तिले पापीहरूलाई खेद्‍ने छ, तर धर्मी मानिसले भलाइको इनाम पाउने छ । 22 असल व्यक्तिले आफ्ना नाति-नातिनाहरूका निम्ति पैतृक-सम्पत्ति छाड्छ, तर पापीको सम्पत्ति धर्मी व्यक्तिको लागि सञ्चय गरिन्छ । 23 गरिब मानिसको नजोतिएको खेतबारीले प्रशस्तै अन्‍न उब्जाउला, तर अन्यायले त्यसलाई खोसेर लैजान्छ । 24 आफ्नो छोरोलाई अनुशासनमा नराख्‍नेले उसलाई घृणा गर्छ, तर आफ्नो छोरोलाई प्रेम गर्नेले उसलाई होसियारीसाथ अर्ती दिन्छ । 25 आफ्नो भोक तृप्‍त नभएसम्म धर्मात्माले खान्छ, तर दुष्‍टको पेट सधैँ भोकभोकै हुन्छ ।