14
बुद्धिमान् स्‍त्रीले आफ्नो घर बनाउँछे, तर मूर्ख स्‍त्रीले आफ्नै हातले त्यो भत्काउँछे । सोझो भएर हिँड्नेले परमप्रभुको भय मान्छ, तर आफ्ना चालहरूमा बेइमान व्यक्तिले उहाँलाई तुच्छ ठान्छ । मूर्खको मुखबाट त्यसको मूर्खताको हाँगा निस्कन्छ, तर बुद्धिमान्‌को ओठले त्यसको रक्षा गर्छ । गाईवस्तु नभएको ठाउँमा भकारी खाली हुन्छ, तर गोरुको बलद्वारा प्रशस्त फसलको कटनी हुन सक्छ । विश्‍वासयोग्य साक्षीले झुट बोल्दैन, तर झुटो साक्षीले झुटा कुराहरू निकाल्छ । गिल्ला गर्नेले बुद्धिको खोजी गर्छ, तर पाउँदैन, जब कि समझदार व्यक्तिलाई ज्ञान सजिलैसित आउँछ । मूर्ख मानिसबाट टाढै बस, किनकि तिमीले त्यसको ओठमा ज्ञान पाउने छैनौ । समझदार मानिसको बुद्धि उसको आफ्नै मार्ग बुझ्नको लागि हो, तर मूर्खहरूको मूर्खता छल हो । दोषबलि चढाइँदा मूर्खहरूले गिल्ला गर्छन्, तर सोझाहरूका बिचमा स्‍नेह बाँडचुँड गरिन्छ । 10 हृदयले यसको आफ्नै तिक्तता जान्दछ, र कुनै पनि परदेशीले यसको आनन्द बाँडचुँड गर्दैन । 11 दुष्‍ट मानिसहरूको घर नष्‍ट पारिने छ, तर धर्मी मानिसहरूको पालमा फलिफा हुने छ । 12 कुनै बाटो मानिसलाई सोझोजस्तै लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्‍याउँछ । 13 हृदयमा हाँसो भए तापनि वेदना हुन सक्छ, र हर्षको अन्तचाहिँ शोकमा हुन सक्छ । 14 विश्‍वासयोग्य नभएको व्यक्तिले आफ्ना चालहरूको प्रतिफल भोग्‍ने छ, तर असल व्यक्तिले आफ्नो इनाम पाउने छ । 15 बेवकूफ मानिसले हरेक कुरा पत्याउँछ, तर समझदार मानिसले आफ्ना चालहरूबारे विचार गर्छ । 16 बुद्धिमान् मानिस डराएर दुष्‍टताबाट टाढै बस्छ, तर मूर्खले निश्‍चयतासाथ चेताउनीलाई खारेज गरिदिन्छ । 17 झट्ट रिसाउनेले मूर्ख कुराहरू गर्छ, र दुष्‍ट योजनाहरू रच्नेलाई घृणा गरिन्छ । 18 बेसमझ मानिसले मूर्खता कमाउँछ, तर समझदार मानिसले ज्ञानको मुकुट पहिरिन्छ । 19 खराब मानिसहरू असल मानिसहरूका सामु र दुष्‍ट मानिसहरू धर्मात्माका ढोकाहरूमा झुक्‍ने छन् । 20 आफ्नै मित्रहरूबाट समेत गरिब मानिसलाई घृणा गरिन्छ, तर धनी मानिसका धेरै साथीहरू हुन्छन् । 21 आफ्नो छिमेकीलाई हेला गर्नेले पाप गरिरहेको हुन्छ, तर गरिबलाई स्‍नेह देखाउने आशिषित् हुन्छ । 22 के खराब युक्ति रच्नेहरू बरालिँदैनन् र ? तर असल गर्ने योजना बनाउनेहरूले करारको विश्‍वसनीयता र भरोसा प्राप्‍त गर्ने छन् । 23 सबै कडा परिश्रमले लाभ ल्याउँछ, तर कुरा मात्र गर्नाले गरिबीमा पुर्‍याउँछ । 24 बुद्धिमान् मानिसहरूको मुकुट तिनीहरूको सम्पत्ति हो, तर मूर्खहरूको मूर्खताले तिनीहरूमा झन् बढी मूर्खता ल्याउँछ । 25 विश्‍वासयोग्य साक्षीले जीवन बचाउँछ, तर झुटो साक्षीले झुटा कुराहरू ओकल्छ । 26 परमप्रभुको भय मान्‍नेसित बढी निश्‍चयता हुन्छ । त्यस मानिसको छोराछोरीका निम्ति यो सुरक्षाको एउटा बलियो स्थानझैँ हुने छ । 27 परमप्रभुको भय जीवनको फुहारा हो, जसद्वारा मानिस मृत्युका जालहरूबाट उम्कन्छ । 28 राजाको महिमा तिनका धेरै मानिसहरूको सङ्ख्यामा पाइन्छ, तर मानिसहरूविना राजकुमार नष्‍ट हुन्छ । 29 धैर्यवान् मानिससित ठुलो समझशक्ति हुन्छ, तर गरम मिजासको मानिसले मूर्खतालाई उचाल्छ । 30 शान्त हृदय शरीरको लागि जीवन हो, तर ईर्ष्याले हड्‍डीहरूलाई सडाउँछ । 31 गरिबलाई थिचोमिचो गर्नेले आफ्नो सृष्‍टिकर्तालाई सराप्छ, तर खाँचोमा परेकाहरूलाई स्‍नेह देखाउनेले उहाँको आदर गर्छ । 32 आफ्ना खराब कामहरूद्वारा दुष्‍ट मानिस तल खसालिन्छ, तर धर्मात्माले मृत्युमा समेत आश्रय पाउँछ । 33 बुद्धिले विवेकीको हृदयमा बास गर्छ, र मूर्खहरूका बिचमा समेत त्यसले आफूलाई चिनाउँछ । 34 धार्मिकताले देशलाई उचाल्छ, तर पाप कुनै पनि मानिसको लागि अपमानको कुरो हो । 35 समझदारसित काम गर्ने नोकरमाथि राजाको स्‍नेह हुन्छ, तर लाजमर्दो तरिकाले काम गर्नेमाथि तिनको रिस पर्छ ।