28
कसैले नलखेट्दा पनि दुष्‍ट मानिसहरू भाग्छन्, तर धर्मी मानिसहरू जवान सिंहझैँ निर्भीक हुन्छन् । देशको अधर्मको कारण त्यहाँ धेरै शासकहरू हुन्छन्, तर समझशक्ति र ज्ञान भएको मानिसले अमनचैन कायम राख्‍ने छ । एउटा गरिब मानिसमाथि थिचोमिचो गर्ने अर्को गरिब मानिस अन्‍न सखाप पार्ने मुसलधारे वर्षाजस्तो हो । व्यवस्था त्याग्‍नेहरूले दुष्‍ट मानिसहरूको प्रशंसा गर्छन्, तर व्यवस्था पालन गर्नेहरू तिनीहरूको विरुद्धमा लड्छन् । खराब मानिसले न्यायलाई बुझ्दैन, तर परमप्रभुको खोजी गर्नेहरूले हरेक कुरो बुझ्दछ । आफ्ना मार्गहरूमा टेडो हुने धनी मानिसभन्दा आफ्नो निष्‍ठामा हिँड्ने गरिब मानिस उत्तम हुन्छ । व्यवस्था पालन गर्ने छोरो समझदार हुन्छ, तर घिचावाको सङ्गत गर्नेले चाहिँ आफ्नो बुबालाई लज्‍जित तुल्याउँछ । धेरै ब्याज लगाएर आफ्नो सम्पत्ति बढाउने मानिसको धनलाई अर्कैले कुम्ल्याउँछ र त्यसले गरिबहरूमाथि दया देखाउँछ । कसैले व्यवस्था सुन्‍नबाट आफ्नो कान तर्कायो भने त्यसको प्रार्थना पनि घृणित हुन्छ । 10 सोझाहरूलाई खराब मार्गमा लैजाने जो कोही पनि आफूले खनेको खाल्डोमा जाकिने छ, तर खोटरहित मानिसले असल पैतृक-सम्पत्ति पाउने छ । 11 धनी मानिस आफ्नै दृष्‍टिमा बुद्धिमान् होला, तर समझशक्ति भएको गरिब मानिसले त्यसलाई पत्ता लगाउने छ । 12 धर्मीहरू विजय हुँदा ठुलो महिमा हुन्छ, तर दुष्‍टहरूको उदय हुँदा मानिसहरू लुक्‍न थाल्छन् । 13 आफ्ना पापहरू लुकाउनेको उन्‍नति हुने छैन, तर तिनलाई स्वीकार गरी त्याग्‍नेलाई कृपा देखाइने छ । 14 सधैँ आदरसाथ जिउने आशिषित् हुने छ, तर आफ्नो हृदयलाई कठोर बनाउनेचाहिँ कष्‍टमा पर्ने छ । 15 गर्जने सिंह वा झम्टने भालुझैँ मानिसहरूमाथि शासन गर्ने दुष्‍ट शासक हुन्छ । 16 समझशक्ति कमी भएको शासक क्रुर हुन्छ, तर बेइमानीलाई घृणा गर्नेचाहिँको आयु लामो हुन्छ । 17 कसैको रगत बगाएकोले मानिस दोषी छ भने त्यसको मृत्यु नभएसम्म त्यो भगुवा हुने छ र कसैले त्यसलाई सहायता गर्ने छैन । 18 निष्‍ठासहित हिँड्ने सुरक्षित हुने छ, तर टेडो चाल भएको मानिस अकस्मात् पतन हुने छ । 19 आफ्नो खेतबारी खनजोत गर्नेको प्रशस्त अन्‍न हुने छ, तर बेकम्मा कोसिसको पछि लाग्‍नेचाहिँ दरिद्रताले भरिने छ । 20 विश्‍वासयोग्य मानिसले धेरै आशिष्‌हरू पाउने छ, तर झट्टै धनी हुनेचाहिँ दण्डविना उम्कने छैन । 21 पक्षपात गर्नु राम्रो होइन, तरै पनि एक टुक्रा रोटीको लागि मानिसले गलत काम गर्छ । 22 कन्जुस मानिस धनको पछि लाग्छ, तर दरिद्रता त्यसमाथि आइपर्ने छ भनी त्यसलाई थाहै हुँदैन । 23 फुर्क्याउने जिब्रो भएकोले भन्दा अनुशासनमा राख्‍नेले नै पछि बढी निगाह पाउँछ । 24 आफ्ना बुबा र आमालाई लुटेर “त्यो पाप होइन” भनी बताउने मानिस बर्बादी ल्याउनेको मित्र हुन्छ । 25 लोभी मानिसले द्वन्द्व निम्त्याउँछ, तर परमप्रभुमा भरोसा गर्नेको उन्‍नति हुने छ । 26 आफ्नै हृदयमा भरोसा गर्ने मानिस मूर्ख हो, तर बुद्धिमा चल्नेचाहिँ खतराबाट टाढै बस्छ । 27 गरिबलाई दिनेलाई कुनै कुराको अभाव हुँदैन, तर तिनीहरूप्रति आँखा चिम्लनेले धेरै श्राप पाउने छ । 28 दुष्‍टहरूको उदय हुँदा मानिसहरू लुक्छन्, तर तिनीहरू नष्‍ट हुँदा धर्मीहरूको वृद्धि हुन्छ ।