29
धेरै पटक हप्की पाएर पनि हठी हुने मानिस निको नहुने गरी एकै क्षणमा नष्‍ट हुने छ । धर्मात्माहरूको वृद्धि हुँदा मानिसहरूले आनन्द मनाउँछन्, तर दुष्‍ट मानिस शासक बन्दा मानिसहरूले सुस्केरा हाल्छन् । बुद्धिलाई प्रेम गर्नेले आफ्नो बुबालाई प्रसन्‍न तुल्याउँछ, तर वेश्याहरूको सङ्गत गर्नेले आफ्नो सम्पत्ति नष्‍ट पार्छ । राजाले न्यायद्वारा देश सुदृढ बनाउँछ, तर घुस लिनले देशलाई तहसनहस पार्छ । आफ्नो छिमेकीलाई फुर्क्याउनेले त्यसका खुट्टाका लागि जाल फिजाइरहेको हुन्छ । खराब मानिसको पापमा पासो हुन्छ, तर धर्मात्माले गाएर आनन्द मनाउँछ । धर्मात्मालाई गरिबका अधिकारहरू थाहा हुन्छ, तर दुष्‍टले यस्तो ज्ञान बुझ्दैन । खिल्ली उडाउनेहरूले सहरमा आगो लगाउँछन्, तर बुद्धिमान्‌हरूले क्रोधलाई पाखा लगाउँछ । बुद्धिमान् मानिसले मूर्खसित तर्क-वितर्क गर्दा मूर्खले रिस प्रकट गरेर गिल्ला गर्छ र त्यहाँ चैन हुँदैन । 10 रक्तपात गर्नेले खोटरहित मानिसलाई घृणा गर्छ, र सोझाहरूको ज्यान लिन खोज्छ । 11 मूर्खले आफ्ना सबै रिस प्रकट गर्छ, तर बुद्धिमान् मानिसले त्यसलाई थामेर शान्त हुन्छ । 12 शासकले झुटो कुरोलाई ध्यान दियो भने त्यसका सबै कर्मचारी दुष्‍ट हुने छन् । 13 गरिब र थिचोमिचो गर्ने मानिस उस्तै हुन्, किनकि परमप्रभुले नै दुवैका आँखामा दृष्‍टि दिनुहुन्छ । 14 राजाले सत्यताद्वारा गरिबको न्याय गर्‍यो भने तिनको सिंहासन सदाको लागि स्थिर रहने छ । 15 लट्ठी र सुधारले बुद्धि दिन्छन्, तर अनुशासनविनाको बालकले आफ्नी आमालाई लाजमा पार्छ । 16 दुष्‍ट मानिसहरू शक्तिमा पुग्दा अधर्मको वृद्धि हुन्छ, तर धर्मी मानिसहरू ती दुष्‍ट मानिसहरूको पतन देख्‍ने छन् । 17 आफ्नो छोरोलाई अनुशासनमा राख्, र त्यसले तैलाई चैन दिने छ; त्यसले तेरो जीवनमा आनन्द ल्याउने छ । 18 जहाँ अगमवाणीय दर्शन हुँदैन, त्यहाँ मानिसहरू भाँडिन्छन्, तर व्यवस्था पालन गर्नेचाहिँ धन्यको हो । 19 कुराले मात्र नोकरलाई सुधार्न सकिँदैन, किनकि त्यसले बुझे तापनि त्यहाँ कुनै प्रतिक्रिया हुँदैन । 20 के आफ्नो वचनमा हतारिएर बोल्ने मानिसलाई तँ देख्छस् ? त्यसको लागि भन्दा त मूर्खको लागि बढी आशा हुन्छ । 21 जसले आफ्नो नोकरलाई आफ्नो बाल्यावस्थादेखि पुल्पुल्याउँछ, त्यसले अन्त्यमा कष्‍ट भोग्‍ने छ । 22 रिसाएको मानिसले द्वन्द्व निम्त्याउँछ, र झोँकको मालिकले धेरै पाप गर्छ । 23 मानिसले घमण्डले त्यसलाई तल खसाल्छ, तर विनम्र आत्मा भएको मानिसलाई आदर दिइने छ । 24 चोरसित बाँडचुँड गर्नेले आफ्नै जीवनलाई घृणा गर्छ । त्यसले श्राप सुन्छ र केही भन्दैन । 25 मानिसको डर पासोजस्तै हो, तर परमप्रभुमाथि भरोसा गर्नेचाहिँ सुरक्षित हुने छ । 26 शासकको मुहार खोज्नेहरू धेरै छन्, तर मानिसको लागि न्याय परमप्रभुबाट नै आउँछ । 27 अन्यायी मानिस धर्मात्माको लागि घृणित हुन्छ, र सोझो चाल भएको मानिस दुष्‍टको लागि घृणित हुन्छ ।