30
याकेका छोरा आगूरका वचनहरू अर्थात् ईश्‍वरवाणीः यी मानिसले इथीएल र यूकाललाई घोषणा गरेका हुन्: निश्‍चय नै म कुनै पनि मानिसभन्दा पशुजस्तो छु, र मसित मानिसको समझशक्ति छैन । मैले बुद्धि प्राप्‍त गरेको छैनँ, न त मसित परमपवित्रको ज्ञान नै छ । स्वर्ग उक्लेर को तल झरेको छ र ? आफ्ना हातको मुट्ठीमा कसले बतासलाई बटुलेको छ र ? कसले पानीलाई आफ्नो खास्टोमा जम्मा गरेको छ र ? कसले पृथ्वीका कुना-कुनालाई स्थापित गरेको छ र ? उहाँको नाउँ के हो र उहाँका पुत्रको नाउँ के हो ? निश्‍चय नै तँलाई थाहा होला! परमेश्‍वरको हरेक वचन जाँचिएको छ । उहाँमा शरण लिनेहरूका लागि उहाँ ढाल हुनुहुन्छ । उहाँका वचनहरूमा नथप् नत्रता उहाँले तँलाई अनुशासनमा राख्‍नुहुने छ, र तँ झुटो ठहरिने छस् । म तपाईंबाट दुईवटा कुरा माग्दछु । म मर्नुअगि ती मबाट नरोक्‍नुहोस् । व्यर्थता र झुटलाई मबाट पर राखिदिनुहोस् । मलाई दरिद्रता वा धन-सम्पत्ति नदिनुहोस् । मलाई आवश्यक पर्ने भोजन मात्र दिनुहोस् । किनकि मसित धेरै भए भने मैले तपाईंलाई इन्कार गरेर भनूँला, “परमप्रभु को हो र ?” वा गरिब भएँ भने, मैले चोरेर मेरा परमेश्‍वरको नाउँ अपवित्र तुल्याउँला । 10 मालिकको सामु त्यसको नोकरको निन्दा नगर्, नत्रता त्यसले तँलाई सराप्‍ने छ, र तँ दोषी बन्‍ने छस् । 11 आफ्ना बुबाहरूलाई सराप्‍ने र आमाहरूलाई आशिष् नदिने पुस्ता पनि छ । 12 आफ्नै दृष्‍टिमा शुद्ध हुने पुस्ता पनि छ, तापनि तिनीहरू आफ्नो फोहोरबाट सफा भएका छैनन् । 13 अहङ्कारी आँखा भएकाहरूको पुस्ता पनि छ, जसको हेराइ अति घृणास्पद हुन्छ । 14 यस्तो पुस्ता पनि छ जसका दाँत तरवारहरू हुन्, र तिनीहरूका बङ्गारा छुराजस्तै छन्, ताकि तिनीहरूले देशबाट गरिबहरूलाई र मानव-जातिबाट खाँचोमा परेकाहरूलाई निल्न सकून् । 15 जूकाका दुई छोरी छन् । “देऊ, देऊ” भन्दै तिनीहरू चिच्‍च्याउँछन् । तिनवटा कुरा छन् जुन कहिल्यै सन्तुष्‍ट हुँदैनन्, र चारवटा कुरा जसले कहिल्यै “पुग्यो” भन्दैनन् । 16 पाताल, बाँझी स्‍त्री, पानीले कहिल्यै सन्तुष्‍ट नहुने जमिन र कहिल्यै “पुग्यो” नभन्‍ने आगो । 17 बुबालाई खिल्ली उडाउने र आमाको आज्ञालाई खिसी गर्ने आँखालाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्ने छन्, र त्यसलाई गिद्धहरूले खाने छन् । 18 तिनवटा कुरा छन्, जुन मेरा लागि ज्यादै उदेकका छन्, चारवटा छन्, जसलाई म बुझ्न सक्दिनँ: 19 आकाशमा चिलको चाल, चट्टानमा सर्पको चाल, समुद्रको बिचमा जहाजको चाल र तरुणीसित पुरुषको चाल । 20 व्यभिचारी स्‍त्रीको चाल यस्तो हुन्छः त्यसले खाएर आफ्नो मुख पुछ्छे अनि भन्छे, “मैले कुनै गल्ती गरेकी छैनँ ।” 21 तिनवटा कुराबाट पृथ्वी काम्छ, र चारवटा कुरालाई यसले सहन सक्दैनः 22 राजा भएको नोकर, खानाले टन्‍न अघाएको मूर्ख, 23 विवाह गर्ने माया नपाएकी स्‍त्री र आफ्नी मालिक्‍नीलाई पन्छाएर उक्त ठाउँमा बस्‍ने नोकर्नी । 24 पृथ्वीमा चारवटा कुरा साना छन्, र पनि तिनीहरू अत्यन्तै बुद्धिमान् छन्: 25 कमिलाहरू निर्बल प्राणी हुन्, तरै पनि तिनीहरूले ग्रीष्म ऋतुमा आफ्नो भोजन तयार पार्छन् । 26 शापानहरू शक्तिशाली प्राणी होइनन्, तरै पनि पहरामा तिनीहरूले आफ्नो घर बनाउछन् । 27 सलहहरूको कुनै राजा हुँदैन, तरै पनि तिनीहरू हुल बाँधेर अगाडि बढ्छन् । 28 छेपाराहरूलाई तपाईंका दुईवटा हातले समात्‍न सकिन्छ, तरै पनि तिनीहरू राजदरबारमा पाइन्छन् । 29 तिनवटा कुरा छन्, जो आफ्नो हिँडाइमा रवाफिला छन् र चारवटा छन् जुन शानसँग हिँड्छन्: 30 सिंह पशुहरूमध्ये सबैभन्दा शक्तिशाली हुन्छ, जो कुनै प्राणीदेखि तर्कंदैन । 31 शानसँग हिँड्ने कुखुराको भाले, बोका र आफ्नो छेउमा सिपाहीहरू राखेर हिँड्ने राजा । 32 आफैलाई उचालेर तँ मूर्ख भएको छस् भने वा तैँले खराबीको योजना रचेको छस् भने हातले तेरो मुख थुनिहाल् । 33 जसरी दूध मथेर घिउ निस्कन्छ, र नाक ठोक्‍किँदा रगत निस्कन्छ, त्यसरी नै रिसमा गरिएको कामले द्वन्द्व उत्पन्‍न गराउँछ ।